नेपालमा तालुकदारी प्रथा

Authors

  • Hira Lal Regmi TU DMC

Abstract

तालुकदारी प्रथा विगतमा भूमिकर वा मालपोतकर सङ्कलन गर्नका लागि राज्यका तर्फदेखि व्यवस्था गरिएको एक महइभ्वपूर्ण प्रथा मानिन्छ । यस प्रथालाई जिम्वाली तथा मुखियाली प्रथा पनि भन्ने गरिन्छ । नेपालमा तालुकदारी प्रथा र यस प्रथामा भूमिकरसम्बन्धी व्यवस्थाका बारेमा विमर्श गर्ने र तत्कालीन अवस्थामा तालुकदारहरुको सामाजिक, प्रशासनिक तथा न्यायिक अधिकार एवम् दायित्व जस्ता विषयका सम्बन्धमा जानकारी गराउने उद्देश्य तथा सीमाभित्र केन्द्रित रही स्वअनुभव, तत्कालीन समयमा मुखियाको जिम्मेवारीमा रहेका एवम् तालुकदारी प्रथाको अनुभव गरेका अग्रजव्यक्तिहरुको धारणाहरु समेत समावेश गरी पुस्तकालयीय अध्ययनबाट प्राप्त तथ्य र सूचनालाई आधार मानेर विवरणात्मक र व्याख्यात्मक शैलीमा यो आलेख तयार गरिएको छ । नेपालमा विगतमा प्रचलनमा रहेको तालुकदारी प्रथामा तालुकदारहरुको सामाजिक दायित्व तथा स्थान र भूमिकरसम्बन्धी व्यवस्थालाई अनुसन्धान समस्याका रुपमा उठान गरिएको छ । लिच्छवी शासनकालदेखि नै केन्द्रीय शासकहरुबाट नियुक्त गरिएका स्थानीय व्यक्तिहरुले आफ्नो क्षेत्र वा इलाकाबाट कर सङ्कलन गर्नका लागि जिम्मावाल तथा मुखियाहरु (तालुकदार) को व्यवस्था गर्ने गरेकोे पाइन्छ । राज्यका तर्फबाट व्यवस्था गरिएका तालुकदारहरुका माध्यमबाट भूमिकर सङ्कलन गरी सरकारी कोषमा दाखिला गर्ने चलन विक्रम सम्वत् २०३७ सालसम्म रहेको पाइनुले यस प्रथाले नेपाली समाजमा बलियोसँग जरा गाडेको तथ्य पत्ता लाग्दछ । जिम्मावाल, मुखिया, जिमीदार, चौधरीजस्ता तालुकदाररुको व्यवस्था गरी उनीहरुलाई न्यायिक, प्रशासनिक तथा वित्तीय अधिकार प्रदान गरिनुले यो प्रथाले कानूनी हैसियत पनि प्राप्त गरेको देखिन आउँछ । जग्गा जमिनलाई विभिन्न एकाइ तथा प्रकारमा विभाजन गरी सोहीअनुसार राज्यद्वारा निर्धारण गरिएको कर सङ्कलन गरी राज्यकोषमा दाखिला गर्ने कार्य तालुकदारहरुले गर्दथे । वर्तमान समयमा यो प्रथा कायम रहेको छैन तर पनि आफ्नो जिम्माभित्रको गाउँबस्तीमा सामाजिक तथा सरकारी कार्यहरुका लागि झारा लगाउने, सर–सफाई गर्ने तथा थिति बसाल्ने जस्ता काममा पनि तालुकदारको भूमिका धेरै रहने गर्दथ्यो ।

Published

2023-07-30